फिल्म ‘बाला’को कमाइ सय करोड नाघ्यो

  17'th November, 2019

मुम्बइ, १ मङ्सिर । २५ करोडको कम बजेटमा निर्माण भएको बलिउड अभिनेता आयुस्मान खुरानाको नयाँ फिल्म ‘बाला’ले एक सय करोड भारू कमाइ कटाएको छ । ‘बाला’को यो कमाइले आयुस्मानदेखि निर्माता-निर्देशक र पूरै फिल्म टोली उत्साहित भएका छन् ।

पछिल्लो समय एक सय करोड भारू कमाउन बलिउडमा ‘सुपरस्टार’ हरूलाई समेत हम्मे-हम्मे परेको बेला बलिउडका ‘हिट मेसिन’ भनेर चिनिन थालेका आयुस्मानले फेरी अर्को हिट फिल्म दिएका हुन् ।

महँगा फिल्मले आफ्नो लगानी उकास्न नसेककाले कम बजेटको ‘बाला’ बक्सअफिसमा चम्किरहेको छ । ‘बाला’ जम्मा २५ करोड भारूमा बनेको हो । यो रकम बलिउडका कुनै सुपरस्टारको एक फिल्मको पारिश्रमिक आसपास हो । अमर कौशिकको निर्देशनमा बनेको ‘बाला’मा आयुष्मानका अलावा भूमि पेडनेकर, यमी गौतम, सिमा पाहवा, जावेद जाफरी तथा सौरभ शुक्लाको प्रमुख भूमिका छ । ‘बाला’ ले रिलिजकै दिन हिट हुने संकेत गरेको थियो । सुरू दिनै यसले दस करोड भारू कमाइ गरेको थियो ।

फिल्मले २५ वर्षको उमेरबाट आफ्नो कपाल गुमाउन थालेको एक युवकको भोगाइको कथा पेश गर्छ । आयुस्मानले कम बजेटकै फिल्म खेलेर लगातार सात वटा हिट फिल्म दिइसके । अझ यसअघिको ‘अन्धाधुन’ले त चीनमा समेतगरी चार सय करोड भारूभन्दा बढी कमाइसकेको छ। यसैले त आयुस्मानलाई ‘हिट मेसिन’ भन्न थालिएको हो ।

सन् २०१२ मा ‘विक्की डोनर’मार्फत् बलिउड प्रवेश गरेका आयुस्मानले हालसम्म १३ वटा फिल्म खेले जुन सबै कम बजेटका थिए। यीमध्ये उनका ९ वटा फिल्म हिट छन् । सन् २०१७ यता त उनका सबै फिल्मले एक सय करोड कमाइ कटाइसकेका छन् ।